अमेरिकामा नदीमा डुबेर एक नेपाली निधन

asha-paudel-drowned-in-river-usaसात वर्ष भइसकेको थियो नेपाल नगएको। डिभी परेर अमेरिका आएपछि काममा नै ब्यस्त भएकाले आशा शर्मा पौडेलको परिवारलाई नेपाल जाने फुर्सद पनि भएन। यस वर्षको दशैमा स-परिवार नेपाल जाने तयारीमा थिए उनीहरू। त्यसको लागि टिकट पनि बुकिङ भइसकेको थियो। तर, परिवारका साथ मनोरञ्जन गर्न गएकी आशाको नदीमा डुबेर निधन भएपछि नेपाल जाने उनको सपना अधुरै भएको छ।

अमेरिकाको क्यालिर्फोनियाको डिस्कभर पार्कमा रहेको सेक्रमेण्टो नदीले पौडेल परिवारको सपनालाई बगाएर लगेको छ। छुट्टीको समयमा सपरिवारका साथ घुम्न गएकी आशा एक्कासी नदीमा खसिन्।  श्रीमान् पूर्ण पौडेलले बचाउने प्रयत्न त गरे। तर  श्रीमतीलाई बचाउन जाँदा श्रीमान् पनि डुब्न पुगे। आशासँगै नदीमा अर्की नेपाली उषा विसी र उनकी छोरी पनि डुबिन्। उनीहरुलाई भने दुई अमेरिकनले बचाउन सफल भए।
श्रीमान् पौडेललाई २५ बर्षिय कोरे सिम्सनले बचाए। अर्की नेपाली उषा र उनका छोरीलाई एक अमेरिकनले ज्यानको बाजी थापेर बचाए। तर आशा भने बच्च सकिनन्। उषालाई बचाउने ती अमेरिकन भने अझ पनि हस्पिटलमा छन्। उषासहित दश दिनमा पाँच जनाको निधन भएको यो घटनाले सिंगो  क्यार्लिफोनियाका संचारमाध्यममा चर्चा पायो।
सेक्रमेण्टो नदीमा हराएकी आशाको शव चार दिनसम्म फेला परेन। पार्कमा क्यालिर्फोनिया राज्यका सुरक्षाकर्मीलाई पनि लाश खोज्न हम्मेहम्मे पर्‍यो। अमेरिकाको क्यालिर्फोनिया राज्यका हरेक टेलिभिजनदेखि पत्रपत्रिकाको समाचारको हेडलाइन बन्न पुगिन् आशा।
द सेक्रेमेण्टो बीई पत्रिकाले सन् २००३ देखि हालसम्म ७२ जनाको सो नदीमा निधन भइसकेको जनाउँदै आशाको समाचारलाई प्रमुखताका साथ सम्प्रेषण गर्‍यो।
लामो प्रयासपछि आशाको शव फेला पर्‍यो। परिवारले अमेरिकामा नै नेपाली परम्परा अनुसार दाहसंस्कार गरे। तर अझ पनि उनको परिवारलाई आशा आफ्नो साथमा छैनन् भन्ने  बिश्वास गर्न गाह्रो भइरहेको छ।
पौडेलको निधनले अहिले सिंगो क्यालिफोर्नियाबासी नेपाली शोकमा डुबेका छन्।  आमा कहिले आउछिन्? भनेर प्रश्न सोध्ने दुई नाबालक बच्चाको अबोध प्रश्नले धेरैको मन रूआएको छ। दुई वर्षअघि मात्र सेक्रेमेण्टोमा अवस्थित अमेरिकन एभिन्यूमा किनेको घर अहिले सुनसान छ। गर्मीको छुट्टी मनाउन दुई छोरा र श्रीमान्‌का साथ निस्कीएकी आशा अब सो घरमा कहिल्यै आउने छैनन्।
क्यालिफोर्नियाको धूप र गर्मी छल्न सेक्रेमेण्टोमा बसोवास गर्ने करिब एक दर्जन नेपाली मिलेर घुम्न गएका थिए। आशासँगै रमाइलो गरिरहेका अरूलाई  पानीमा हराएको खबर पत्याउन पनि गाह्रो भयो। आशालाई पौडी खेल्न आउँदैन थियो। अमेरिकन रिभर र सेक्रमेण्टो रिभरको संगमको गहिराईमा आशा डुब्न पुगिन्।
नदीमा जाँदा पुर्‍याउनुपर्ने समान्य सावधानी अपनाएको भए सो घटना नहुन सक्ने प्रत्यक्ष दर्शी बताउँछन्।
आशाका नजिकबाट चिन्नेहरु उनी निकै मृदुभाषी मिलनसार स्वभावको रहेको बताउँछन्। पेशाले स्वास्थ्य सेवामा कार्यरत भएपनि उनलाई समाज सेवामा पनि रूची थियो। आशा नेप्लीज फ्रेन्ड्स एण्ड कल्चरल एसोसियसन (नाफ्का ) मा आबद्ध थिइन्।
आशाको निधनले सिंगो क्यालिफोर्निया नै शोकमा डुबेको स्थानीय सेक्रेमेण्टो निबासी गजेन्द्र अधिकारीले बताए। गीत र नृत्यमा सौखिन आशाको यो दशैंमा नेपाल सपना अधुरै भएको अधिकारीले जनाए।
सुर्खेतबाट करिब ७ बर्ष अगाडि अमेरिका आएका थिए पौडेल परिवार। पहिला सेक्रेमेण्टोको डाउन टाउनमा बसोवास गरी करिब दुई बर्ष अगाडि उनीहरु घर खरिद अमेरिकन एभिन्यूमा सरेका थिए। आशाका एउटा ५ बर्षका अर्का दुई बर्षको छोरा छन्। चार वर्षअघि युर्निभर्सिटी पोष्ट एक्यूट रिह्याब नामक स्वास्थ्य संस्थामा नर्स सहायकको रुपमा कार्यरत आशा अरुको सेवामा निकै सुखी हुने गर्थिन्।
करिब चार दिनपछि भेटिएको आशाको शव जुलाई ११ शनिबार दिन निजी निवास अमेरिकन एभिन्यूमा बिहान ९ बजे देखि १२ बजेसम्म श्रद्धाञ्जलीको लागि  राखिएको थियो। सोही दिन हिन्दू संस्कार अनुसार दाहसंस्कार गरियो। सो समय क्यार्लिफोनियाका करिब एक सय भन्दा बढी नेपाली तथा विदेशीका आँखा रसाएका थिए।
अहिले आशाका परिवारको सहयोगका लागि ग्रेटर सेक्रोमेण्टोमा रहेको नेप्लीज फ्रेण्ड्स एण्ड कल्चरल एसोसियस (नाफ्का)ले सहयोगका लागि  कोस खडा गरेको छ। नाफ्का अध्यक्ष सुरेन्द्र अधिकारीले भने, ‘अमेरिकामा दाहसंस्कार महंगो छ। आशाका बच्चाहरू नाबालक छन्। उनीहरुको भविष्यको लागि पनि हामीले यो अभियान चलाएका हौ।’ अध्यक्ष अधिकारीले अहिले केही सहयोगका हातहरु अगाडि आएपनि त्यो पर्याप्त नभएकाले अमेरिकामा बसोवास गर्ने नेपाली माझ सहयोगका लागि अपिल पनि गर्नुपरेको हो।
Source: http://global.setopati.com/america/888/

Categories: News

No comments yet, be the first to leave one!

You must be logged in to post a comment.